राजकुमार श्रेष्ठ/ टिप्पणी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा आइपुगेका छन् । उनी फिल्मको मध्यान्तरपछि उदाएका नायकझैं देखा परेका छन् । पहिलो मध्यान्तरमा कहिले भिलेन त कहिले सह-अभिनेता जस्तो देखिएका देउवालाई समयले एकाएका नायकका रुपमा उभ्याएको छ ।
देउवा नायकका रुपमा त उदाएका छन्, तर उनको नायकत्वको परख हुन बाँकी नै छ । यस अर्थमा देउवा नायक भएका छन् कि अहिले देखिएको तमाम समस्याको समाधान उनैबाट हुन्छ भनेर आशा गर्नेहरुको संख्या बढ्दो छ । चाहे त्यो मधेसको समस्यालाई लिएर होस् वा भारतसँगको बढ्दो असमझदारीलाई नै लिएर किन नहोस् । देउवा विस्तारै राजनीतिको केन्द्रमा आइपुगेका छन् ।
फ्लासब्याक
अब नयाँ संविधान कार्यान्वयनका क्रममा शेरबहादुर देउवा केन्द्रमा देखिए । अब उनले चाल्ने कदमहरुसँगै कथाहरु कता मोडिने र फिल्मको कसरी अन्त्य हुन्छ भन्ने निर्धारण गर्नेछ
फिल्मको पहिलो हाफमा फर्कने हो भने देउवा कहिले भिलेन त कहिले सहअभिनेता बने । अहिले देखिएको मधेसको समस्या सिर्जनामा हुनुमा कहीँ न कहीँ देउवाले लिएको अडानले भूमिका खेल्यो ।
खासगरी सीमांकनको सवालमा छ । अखण्ड सुदूरपश्चिमबारे लिएको अडानको केन्द्रमा देउवा आफैं थिए । उनले थारुहरुलाई रौं पनि भन्न भनेको दाबी त्यसबेलाका वार्ताहरुले नै गरेका थिए । जसले उनलाई मधेस र थारु समुदायमा भिलेनका रुपमा प्रस्तुत गर्यो ।
संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने क्रममा पनि उनी कहिल्यै मूख्य भूमिकामा देखिएनन् । फिल्ममा सहअभिनेता जस्तै देउवा कहिले पार्टी सभापति सुशील कोइराला त कहिले एमाले अध्यक्ष केपी ओली र कहिले एमाओवादी अध्यक्ष प्रचण्डको वरीपरी सहयोगीकै भूमिकामा नै रहे ।
तर, अब नयाँ संविधान कार्यान्वयनका क्रममा शेरबहादुर देउवा केन्द्रमा देखिए । अब उनले चाल्ने कदमहरुसँगै कथाहरु कता मोडिने र फिल्मको कसरी अन्त्य हुन्छ भन्ने निर्धारण गर्नेछ ।
सरकारतिर आँखा
पार्टी सभापतिसँगै संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवाको आँखा सरकारतिर जान्छ भन्नेहरु धेरै छन् । जुन अस्वभाविक पनि होइन । कांग्रेस व्यवस्थापिका संंसदको ठूलो दल हो र उसले आफ्नो पक्षमा बहुमत जुटाएर सरकार बनाउन सक्छ ।
तर, सरकार गठनको सन्दर्भमा देउवाले सरकारतिर आँखा लगाउँदै गर्दा तीनपटक प्रधानमन्त्री भइसकेका देउवाले आफ्ना सामू के-के ऐतिहासिक अवसरहरु छन् भनेर पनि हेरिरहेको हुनसक्छ ।
सुदूरपश्चिममा जन्मिए पनि उनलाई जीवनमा अपुग केही रहेन । कहिल्यै संसदीय चुनाव हार्नुपरेन, उनी लगातार सत्ता र शक्तिमा रहिरहे । कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाए, फेरि पार्टी एकता गरे । प्राढो पजेरो काण्ड भयो । यो केन्द्रमा सत्ता नै थियो ।
तर, उनी अब जीवनको उत्तरार्धमा आइपुगेका छन् । त्यसैले अब सरकारतिर आँखा लगाउँदा त्यसभन्दा माथि उठ्नुपर्ने चुनौती उनका सामु छ ।
विपक्षी दल एवं सबैभन्दा ठूलो पार्टीको नेताका हैसियतले अब देउवाले सोच्नुपर्ने अवस्था छ, के गर्यो भने मधेसको समस्या समाधान हुन्छ ? कसरी भारतसँग बढ्दो असमझदारी अन्त्य हुन्छ र राजनीतिको कसिएको गाँठो फुक्छ ?
र, देउवाले पाएको मौका
शायद यसका लागि देउवा उपयुक्त पात्र पनि हुन् । मधेसको सवालमा अहिले कांग्रेस केही लचिलो देखिएको छ । देउवा स्वयंमले पनि संविधान निर्माणका क्रममा जस्तो आफ्नो पूर्वअडान सार्वजनिक गरेका छैनन् ।
र, पार्टीभित्र पनि देउवालाई अहिले सहज वातावरण बनेको छ । केन्द्रीय कार्यसमिति र संसदीय दल दुबैमा देउवाले सुविधाजनक बुहमत पाएका छन् । यस्तो बेलामा मधेसमा समस्या रहेको र जायज माग सम्बोधन गर्नुपर्छ भन्नेमा कांग्रेसका रामचन्द्र पौडेल र कृष्ण सिटौला दुबै समूहको सहमति छ । यो स्ििथतिमा देउवाले मधेसी वा थारुहरुको मागलाई कुन न कुनै रुपले सम्बोधन गर्छु भन्दा पार्टीबाट कुनै अवरोध आउने देखिँदैन ।
छिमेकीको जायज चासो र चिन्तालाई सम्बोधन गर्ने नाममा सत्ता स्वार्थका लागि राष्ट्रिय हितकै प्रतिकुल हुने गरी कुनै कदम चाल्नु भने घातक हुनेछ, जसमा देउवाले सतर्क हुन जरुरी छ ।
अर्को भारतसँगको सम्वन्ध पनि उल्लेखनीय छ । हुन त अहिले भारतसँगको सम्वन्ध सुमधर हुनुपर्छ भन्नेहरुलाई राष्ट्रविरोधीको बिल्ला भिराउने प्रचलन छ । तर, अहिले ठूलो स्वरमा राष्ट्रवादको कुरा गर्नेहरुको विगत सम्झने हो भने उनीहरु सबै भारतनिकट मानिएकाहरु नै छन् । यसमा चाहे केपी शर्मा ओली हुन् वा प्रचण्ड हुन् वा कृष्ण सिटौला नै किन नहुन् ।
हुन सक्छ, उनीहरुले अहिले विगतका गल्तीको प्रायश्चित गर्दैछन् । तर, अब ‘भारतलाई देखाइदिन्छु’ भन्ने शैलीले नेपालको राजनीति अघि बढ्न गाह्रो छ । आफ्नो आन्तरिक समस्या हल गर्ने र छिमेकीको जायज चासो र चिन्ता सम्बोधन गर्दै अघि बढ्नु नै अहिलेको चुनौती हो । र, यसका लागि पनि देउवा उपयुक्त पात्र हुन सक्छन् । तर, छिमेकीको जायज चासो र चिन्तालाई सम्बोधन गर्ने नाममा सत्ता स्वार्थका लागि राष्ट्रिय हितकै प्रतिकुल हुने गरी कुनै कदम चाल्नु भने घातक हुनेछ, जसमा देउवाले सतर्क हुन जरुरी छ ।
के यी सबै काम गर्नका लागि शेरबहादुर देउवाले सरकार फेर्ने कसरत गर्लान् । यसका लागि देउवालाई एमाओवादी अध्यक्ष प्रचण्डको साथ जरुरी छ । देउवानिकट एक नेताका अनुसार सरकार त प्रचण्डलाई साथमा लिएर नै बनाउने हो । तर, यो त्यति सजिलो छैन । एमाओवादी अहिले ओली सरकारको मुख्य साझेदार हो । र, उसले गृहसहितका ८ मन्त्रालय पाएको छ ।
अब देउवाले सरकार गठनमा प्रचण्डको साथ खोज्दै गर्दा किन त्यसो गर्ने भन्ने प्रश्न पार्टीमा आउँछ नै । त्यस्तो अवस्थामा देउवाले आफू प्रधानमन्त्री नभएर प्रचण्डलाई अघि सार्नुपर्ने हुन्छ, जुन देउवाले चाहेका छैनन् ।
अर्कातिर सरकार परिर्वतन गर्ने तयारी गर्दै गर्दा एमालेको पनि आफ्नै तयारी देखिन्छ । एमालेले राष्ट्रवादको कार्ड खेल्न सक्छ । कुनै पनि बेला सरकार छोड्नुपर्छ भन्ने थाहा पाएर नै होला, प्रधानमन्त्री केपी शर्मा ओलीले चर्का-चर्का कुरा गरिरहेका छन् र, योजनाहरु सुनाइरहेका छन् । ताकि भोलि सरकार छाड्नु पर्दाको दिन ‘मैले त गर्न खोजेको थिएँ, तर, दिएनन्, प्रधानमन्त्रीको कुर्सीका लागि राष्ट्रिय स्वाधीनताविरुद्ध सम्झौता गर्न सकिँन’ भन्न पाइयोस् । र, यसलाई नै चुनावी एजेण्डा बनाउन सकियोस् । यसको सामना गर्न देउवा अलिकति सतर्क देखिएको अनुमान गर्न सकिन्छ । किनकि उनी कम बोल्ने र फुकेर मात्रै पाइला चाल्ने पक्षमा देखिन्छन् ।
देउवाको नायकत्वः हिरो बन्ने या भिलेन ? मधेसको समस्या सुल्झाए राजनेताको मौका
ADS HERE


0 comments
Write Down Your Responses